५ बैशाख ०८२, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइने बताएका छन् ।
शुक्रबार काठमाडौंमा सञ्चारिका समूह नेपालको ९औं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।
सरकारले तोकेको म्यादभित्र दर्ता नभए नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्लेटफर्महरुलाई प्रतिबन्ध लाग्ने मन्त्री गुरुङले स्पष्ट पारे ।
सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको एकमहिनाको म्याद सकिन केही दिनमात्रै बाँकी रहेको भन्दै उनले फेसबुक लगाएतका सामाजिक सञ्जाल दर्ता हुन नआएको बताए ।
मन्त्री गुरुङले सामाजिक सञ्जाल सम्बन्धी कानुन कुनै सञ्चारमाध्यमलाई बन्द गर्नका लागि नभइ नियमन गर्नका लागि ल्याइएको स्पष्ट पारे ।
उनले प्रविधिको दुरुपयोग गर्दै मुलुक, राजनीतिक दलका साथै जनतालाई कमजोर बनाउने काम भइरहेको भन्दै सरकार गम्भीर भएर यसलाई रोक्न लागिपरेको समेत बताए ।













