यो सरकार स्वार्थ समूह र बिचौलियाले बनाएको व्यवहारले पुष्टि गरेको छ – वर्षमान पुन

१२ बैशाख ०८२, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले वर्तमान सरकार बिचौलिया, दलाल तथा स्वार्थ समूहले बनाएको सरकारकै व्यवहारले पुष्टि गरेको बताए ।

संघीय संसद्को वर्षे अधिवेशनको पहिलो दिन शुक्रबार प्रतिनिधिसभाको बैठकमा सरकारप्रति कडारूपमा प्रस्तुत भएका माओवादी केन्द्रका उपमहासचिव पुनले यस्तो बताएका हुन् ।

नेता पुनले धितोपत्र बोर्ड, बीमा प्राधिकरणजस्ता नियामक निकायमा भएका राजनीतिक नियुक्ति र स्वार्थ समूहले आफ्ना प्रतिनिधिलाई राष्ट्रबैंकको गभर्नर नियुक्त गर्न गरिरहेको चलखेल दिनको घाम जत्तिकै छर्लङ्ग भएको बताए ।

उनले भने, ‘हामीले सुरुदेखि नै यो सरकार स्वार्थ समूह र बिचौलियाले बनाएको भन्दै आएका थियौं । हाम्रा भनाइहरू सत्ताबाट बाहिरिनुपर्दाको पीडा वा प्रतिपक्षले लगाउने कर्मकाण्डी आरोप थिएन भन्ने कुरा १० महिनामा सरकारका एकपछि अर्को व्यवहारले पुष्टि गरेको छ ।’

पुनले वर्तमान सरकार बनेपछि आमजनतामा व्यापक निराशा र असन्तुष्टि बढेको र त्यही असन्तुष्टि र निराशामा टेकेर जनताको शक्तिसामु घुँडा टेकेर गद्दी त्यागेका पूर्वराजा ज्ञानेन्द्र शाहले समेत राजावादी समूहको नाममा टाउको उठाउने प्रयास गरेको पनि बताए ।

उनले पूर्वराजालाई शक्तिमा फर्काउन तम्सिनेहरू धेरै प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीका राजनीतिक सहकर्मी र उनका प्रिय पात्रहरू रहेको आरोप समेत लगाए ।

‘अचम्मको कुरा त के छ भने प्रतिगमनका झन्डा उठाउनेहरू कोही सम्माननीय प्रधानमन्त्रीका चुनावी सहकर्मी, कोही एमालेकै सूर्य चिह्नबाट चुनाव लडेका, कोही उहाँका पार्टीका पूर्वकेन्द्रीय सदस्य, कोही प्रधानमन्त्रीको पार्टीका पूर्वसांसद, अरू कति उहाँका प्रिय पात्रहरू नै हुनुहुन्छ,’ पुनले भने, ‘यसमा प्रधानमन्त्रीज्यूले आत्मसमीक्षा गर्नुभएको छ वा उहाँको के धारणा छ ?’