२२ बैशाख ०८२, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको लाभ नागरिकसम्म पु¥याउन उनीहरूको सशक्तीकरण साथै सरकार र सार्वजनिक निकायको सूचनामा नागरिकको पहुँच सुनिश्चित हुनुपर्ने बताएका छन् ।
सोमबार राष्ट्रिय सूचना आयोगको १८औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।
‘लोकतन्त्रको लाभ नागरिकसम्म पु¥याउन उनीहरूको सशक्तीकरण आवश्यक हुन्छ,’ राष्ट्रपति पौडेलले भने, ‘जबसम्म सरकार र सार्वजनिक निकायको सूचनामा नागरिकको पहुँच सुनिश्चित हुँदैन, तबसम्म लोकतन्त्रको संस्थागत विकास सम्भव हुन्न ।’
उनले लोकतन्त्रमा राज्यको लगानीमा जनताको निगरानी भएन भने मुलुकमा कुशासन मौलाउने भन्दै शासन प्रणालीलाई पारदर्शी बनाउन विश्वव्यापी रुपमा सूचनाको हकको आन्दोलनले व्यापकता पाउँदै आएको बताए ।
राष्ट्रपति पौडेलले नागरिकको करबाट उठेको सार्वजनिक कोषबाट गरिने खर्च र सरकारको कामकारवाही नागरिकप्रति जवाफदेही हुनुपर्ने भन्दै सिद्धान्तको जगमा सूचनामा नागरिकको पहुँचको अधिकारलाई आधुनिक लोकतान्त्रिक राज्यहरूले संरक्षण गरेको बताए ।













