पक्राउ पूर्जी जारी भएका विष्णुप्रसाद बुद्ध जयन्तीको कार्यक्रममा सहभागी

२९ बैशाख ०८२, रुपन्देही । जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएपनि नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य विष्णुप्रसाद पन्थी खुल्ला कार्यक्रममा सहभागी हुँदै आइरहेका छन् ।

आज लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य पन्थी मञ्चमै छन् तर प्रहरीले उनलाई राजनीतिक पहुँचकै आधारमा पक्राउ गर्न सकेको छैन् ।

जिल्ला अदालत मोरङबाट जारी भएको पक्राउ पूर्जी जिल्ला प्रहरी परिसर काठमाडौं, अपराध अनुसन्धान तथा कारबाही शाखा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीसहित मातहतका सबै प्रहरी कार्यालयमा पुगेको छ ।

अदालतले पन्थी सञ्चालक रहेको गौतमबुद्ध हाइड्रो पावर प्रा.लि. काठमाडौंलाई विराटनगरको पल्लवी इलेक्ट्रा प्रा.लि.ले विद्युतीय सामग्री उधारोमा उपलब्ध गराएको तर रकम नतिरेको मुद्दामा पन्थी र उनका साझेदार देवराज खनालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

भर्खरै बुद्ध जन्मस्थल लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बुद्धिष्ट सभा हलमा २५६९औं बुद्ध जयन्ती समारोह एवं लुम्बिनी दिवस मूल समारोह सुरु भएको छ । 

समारोहको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन् । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, संघीय र प्रदेश सांसद हरू , विभिन्न देशका राजदूत, भिक्षु, भिक्षुणी, उपासक, सर्वसाधारण लगायतको सहभागिता रहेको छ ।