नेपालमा पहिलोपटक दोलालघाटदेखि पचुवारघाट्सम्म रिभर ट्यूबिङ्ग

काठमाडौं । नेपालमा पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको हो ।

धेरैको चासोको विषय बनेको रिभर ट्यूबिङ्ग सेवा साहसिक पर्यटनका पारखीहरूका लागि नयाँ गन्तव्यको रूपमा देखा परेको छ ।

यो सेवामा सहभागी पर्यटकहरूलाई ठूला र बलिया रबर ट्यूबमा बसेर नदीको प्राकृतिक बहावसँगै रमाइलो गर्ने अवसर मिल्छ ।

नदीको छालसँग खेल्दै बग्ने यो यात्राले साहसिक अनुभूति मात्र होइन शारीरिक र मानसिक ताजगी पनि प्रदान गर्नेछ । विशेष गरी गर्मीयाममा चिसो पानीमा रमाउने चाहना भएका पर्यटकहरूका लागि यो सेवा उत्कृष्ट विकल्प हुनसक्छ ।

रिभर ट्युबिङ्ग नेपालका फाउण्डर यमन माझीकाअनुसार शुरुवती दिनमा नै ४८ जनाले रिभर ट्युबिङ्ग सेवा लिएका थिए ।

यो परियोजना नेपालमा साहसिक पर्यटनलाई अझ विस्तार गर्ने लक्ष्यका साथ सुरु गरिएको बताउँदै माझीले भने, “नेपालमा पहाडी गन्तव्यहरू र ट्रेकिङ्गका थुप्रै विकल्पहरू भए पनि नदीमा रमाउने सुविधाहरू सीमित छन् । हामीले त्यसलाई नयाँ दिशा दिन खोजेका हौं ।”

रिभर ट्यूबिङ्ग प्याकेजमा सहभागी हुनेहरूका लागि खानपान र यातायातको व्यवस्थासमेत समेटिएको बताउँदै फाउण्डर माझीले दोलालघाटबाट पचुवारघाट्सम्म हुने यो यात्रामा स्थानीय परिकारहरू पनि स्वाद लिन सकिने बताए ।

यात्रामा हुने पर्यटकहरूको सुविधाका लागि अनुभवी प्रोहरु पी.आर.ओ. (प्लेफूल राइड अर्गनाइजर), सुरक्षा उपकरण र मेडिकल किटको व्यवस्था समेत गरिएको जनाइएको छ ।

यमन माझीको यो नयाँ प्रयासले नेपाली पर्यटन क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वासका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।