२१ जेठ ०८२, काठमाडौं । सरकार र सार्वजनिक यातायात व्यवसायीहरु बीच सहमति भएसँगै आजदेखि सार्वजनिक सवारी साधन चल्न थालेका छन् ।
संघीय सरकारले यातायात व्यवसायीसँग गरेको सहमति अनुसार गण्डकी प्रदेश सरकारले राइडसेयरिङ र सेल्फ ड्राइभ सम्बन्धी नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय मंगलबार गरेसँगै सार्वजनिक गाडी चल्न थालेका हुन् ।
गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ र सेल्फ ड्राइभ सम्बन्धी नियमावलीको विरोधमा यातायात व्यवसायीहरुले गण्डकी प्रदेशमा पूर्णरुपमा र काठमाडौं उपत्यका लगायत जिल्लाहरुमा दुई दिन सार्वजनिक गाडी नचलाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गण्डकी प्रदेश सरकारलाई नियमावली स्थगित गर्न पत्राचार गरेको थियो ।
सोही पत्रपछि गण्डकी प्रदेश सरकारले मंगलबार नियमावली स्थगन गर्यो भने यातायात व्यवसायीहरुले बुधबार बिहानैदेखि सार्वजनिक गाडी चलाउन थाले ।













