पूर्वप्रधानमन्त्री नेपाललाई ३५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

१२ असार ०८२, काठमाडौं । विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पतञ्जली जग्गा प्रकरणमा ३५ लाख रूपैयाँको बैंक ग्यारेन्टी बुझाएर बाहिरिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालको समेत संलग्नता किटान गर्दै दायर गरेको मुद्दामा बुधबार अबेर राति विशेषले फैसला सुनाउँदै ३५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

फैसलापछि पूर्वप्रधानमन्त्री नेपाल प्रक्रिया पूरा गरी ३५ लाखको बैंक ग्यारेन्टी बुझाएर बबरमहलस्थित अदालत परिसरबाट बाहिरिएका हुन् ।

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप खेपेका पूर्वप्रधानमन्त्री नेपाललाई धरौटी मागेको हो ।

विशेष अदालतले मन्त्रिपरिषद्को निर्णयका आधारमा हदबन्दी छुटको जग्गा सट्टापट्टा र किनबेच भएको भन्दै मन्त्रिपरिषद्को अध्यक्षता गर्ने पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई साधारण तारिखमा छाड्न इन्कार गरेको छ ।

धरौटीमा छुटेका पूर्वप्रधानमन्त्री नेपाललाई विशेषले साउन १३ गते तारेखमा उपस्थित हुन भनेको छ ।