
काठमाडौं । चलचित्र ‘मिरमिरे’को वर्कसप सुरुभएको छ ।
दयाहाङ राई र प्रकाश सपूत मुख्य भूमिकामा रहेको चलचित्रको वर्कसप आइतबारबाट सुरु गरिएको हो ।
“सुटिङमा सहज होस् । कथा र आफ्नो क्यारेक्टर तथा कलाकारबीच सहज होस् भनेर हामीले वर्कसप सुरु गरेका हौँ,” निर्देशक यम शेर्पाले भने, “यसले हामीलाई हाम्रो सिनेमा छिटो छायांकन सक्न थप सहयोग गर्नेछ ।”
कान्तिपुर फिल्म एकेडेमीमा वर्कसप भइरहेको चलचित्र ‘मिरमिरे’ यही शुक्रबारबाट छायांकन हुनेछ । चलचित्रको अधिकांश छायांकन काभ्रेमा हुने बताइएको छ ।
यही चलचित्रमार्फत् प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्दैछन् । यमले दयाहाङसँग दोस्रोपटक सहकार्य गर्न लागेका हुन् । यसअघि उनको पहिलो निर्देशन ‘कार्साङ’मा पनि दयाहाङले काम गरेका थिए ।

यार्सा फिल्म्सको प्रस्तुति रहने यस चलचित्रमा दयाहाङ, प्रकाशसँगै अभिनेत्री सिर्जना निङलेखु र अभिनेता माओत्से गुरुङको पनि अभिनय रहनेछ ।
चलचित्रको निर्देशनसँगै स्टोरी पनि यम शेर्पा स्वयंले लेखेका छन् । चलचित्रको कथा बारे उनले केही खुलाउन चाहेनन् ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।
‘मिरमिरे’ २०८२ मा रिलिज हुनेछ । प्रदर्शन मिति भने तय भएको छैन । चलचित्रलाई आरआर फिल्मसले वितरण गर्नेछ ।













