उच्चपदस्थ व्यक्तिले बौद्ध शिक्षा ग्रहण गर्नु प्रेरणाको स्रोत हुनसक्छ !

केके मानन्धर/ काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल बौद्ध विद्वान डा.ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डित भिक्षुको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी भएका छन् ।

भिक्षु ज्ञानपूर्णिकको ५औँ वार्षिक पुण्यतिथिको अवसरमा विश्वशान्ति विहार मीन भवनमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री खनाल सहभागी भएका हुन् ।

पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि उक्त समारोहमा भाग लिदैँ बौद्ध शिक्षाको अध्ययन समेत गरेका छन् ।

देशको प्रमुख कार्यकारी पदमा पुग्नुभएका व्यक्तिले बौद्ध शिक्षा ग्रहण गर्नु, अरूका लागि प्रेरणाको स्रोत हुने आयोजकले बताएको छ ।

उक्त गोष्ठीमा बौद्ध विद्वानहरू क्रमशः मदन मानन्धर र डा. त्रिरत्न मानन्धरले कार्यपत्र प्रस्तुत गरेका थिए ।

थेरवाद बौद्ध धर्मका सातौं संघनायक तथा धर्मोदय महासभाका पूर्व अध्यक्ष समेत रहेका भिक्षु ज्ञानपूर्णिकले बौद्ध धर्ममा ६० वटा पुस्तक लेखेका छन् । यस्तै उनले थाइल्याण्डको महाचुलालोङकोर्न विश्वविद्यालय र महामुकुट विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि प्राप्त गरेका छन् ।

भिक्षु अनागारिका थेरवाद बौद्ध एकेडेमीका प्राध्यापक र विद्यार्थीहरूले भाग लिएको सो कार्यक्रममा महेन्द्ररत्न शाक्य र भिक्षु निग्रोध महास्थवीरले मन्तव्य राखेका थिए ।

थेरवाद बौद्ध एकेडेमीका अध्यक्ष निग्रोध महास्थवीरको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन डा. रीना तुलाधरले गरेकी थिइन् ।