
शिशिर सिंखडा/टोरण्टो । ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ” भव्यरूपमा सम्पन्न भएको छ ।
नेपाली सुगम संगीतका सदाबहार गायक रामकृष्ण ढकालले कार्यक्रमको पहिलो कोसेली स्वरुप स्टेजमा हार्मोनियम बजाँउदै देश प्रेम भावको गीत “बिहान उठने बित्तिकै हिमाल देख्न पाइयोस….” गाएका थिए ।
ब्राम्पटनको भुखाराग्रील रेस्टुरेन्टको हलमा खचाखच भरिएका दर्शक माझ नेपाली सुगम संगीतका हस्ती गायक ढकालले चरीले त छाडेर गैगयो…, मन पराउने हजार भेटीन्छ्न…, माया गर्नेको…, ओराली लागेको…, जस्ता गीतहरु गितार, तबला र हार्मोनियमको तालमा प्रत्यक्ष सुन्न, देख्न र संगै गाउन पाँउदा कयौं दर्शकहरु उत्साही त कयौं भावुक बनेका थिए ।

दर्शकहरुले स्वर सम्राट स्व. नारायण गोपालका केही गीत र युगल गीत समेत सुनेर पनि भरपुर मनोरञ्जन लिएका थिए ।
गायक ढकाललाई युगल गीतमा गायिका रीता बुर्लाकोटीले साथ दिएकी थिइन भने तबलामा सन्तोष घिमिरे र गितारमा उदयराज पौडेलले साथ दिएका थिए । एकल साँझ कार्यक्रम जुन २१ तारेख शनिबार (असार ७ गते) भएको थियो ।

प्रवासमा रहेका नेपालीहरू, नेपाली गीत सङ्गीतप्रति माया गर्नेहरुलाई यो एक उत्कृष्ट कार्यक्रम रहेको आयोजक समितिका सदस्य घनश्याम भट्टराईले बताए ।
“रामकृष्ण ढकाल साँझ” कार्यक्रमबाट बचेको रकम ब्राम्पटनमा रहेको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा पुजा अर्चना गरि हस्तान्तरण गरिएको छ ।













