
भक्तपुर । एभरेस्ट स्कुल, भक्तपुरले न्यातपोलको सहकार्यमा “विज्ञान पढेर होइन, गरेर सिकिन्छ” भन्ने प्रेरणादायी मूल आदर्श वाक्यका साथ विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना सम्पन्न गरेको छ ।
स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विज्ञानको विकास विना राष्ट्रको समग्र विकास सम्भव नरहेको भन्दै यस्ता प्रदर्शनीहरूले विद्यार्थीहरूमा विज्ञान र अनुसन्धानप्रति रुचि जगाउने बताए ।
उनले बालबालिकामा रहेको वैज्ञानिक सोच, सिर्जनात्मकता र प्राविधिक दक्षतालाई उजागर गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको पनि बताए ।
उक्त प्रदर्शनीमा विद्यार्थीहरूले आ–आफ्नै सिर्जनात्मक प्रयासमा तयार पारेका वैज्ञानिक उपकरणहरू, प्रयोगात्मक नमुनाहरू सौ दैनिक जीवनसँग सम्बन्धित नवीन आविष्कारहरू प्रस्तुत गरेका थिए ।

कक्षा २ र ३ का नानीहरूले सरल यन्त्रहरू, वातावरणीय सन्देशयुक्त चित्रहरू, रिसाइक्लिङ मेशिन मोडल, तथा हातले चलाउने सामग्रीहरू बनाएका थिए । यस्तै, कक्षा ८ का विद्यार्थीहरूले सोलार सिस्टम मोडेल, जल शुद्धीकरण विधि, ऊर्जा रूपान्तरणको प्रक्रिया र सेन्सर प्रविधि प्रयोग जस्ता उन्नतस्तरका वैज्ञानिक प्रयोगहरू प्रस्तुत गरेका थिए ।

प्रदर्शनीमा अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो भने उनीहरूले विद्यार्थीहरूसँग प्रश्नोत्तर गरेर विद्यार्थीको ज्ञानको स्तर र बुझाइको प्रशंसा गरेका थिए ।













