भोटेकोशीमा आएको बाढीले १४ जना श्रमिक बेपत्ता, ठूलो मात्रामा धनजनको क्षति

२४ असार ०८२, रसुवा । भोटेकोशी नदीमा आएको बाढीले १४ जना श्रमिक बेपत्ता भएका छन् भने ठूलो मात्रामा धनजनको क्षति भएको छ ।

नेपाल इन्टरमोडल विकास समितिकाअनुसार बाढीले बेपत्ता हुनेमा ८ जना नेपाली र ६ जना चिनियाँ श्रमिक रहेको छ ।

बिनाशकारी बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसहित करोडौंको भौतिक क्षति गराएको छ भने रसुवागढी नाकाको पुल बगाउँदा नेपाल–चीन व्यापार पूर्णरूपमा बन्द भएको छ ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीकाअनुसार बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएसँगै सडक सम्पर्क पूर्णरूपमा टुटेको छ । यस्तै स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ ।

नेपाल इन्टरमोडल विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार तत्कालका लागि यो नाकाबाट अन्तर्राष्ट्रिय व्यापार सम्भव छैन ।

व्यवसायी रमेश बरालका अनुसार रसुवा बाढीका कारण सुक्खा बन्दरगाह क्षेत्रमा रहेका कन्टेनर तथा ट्रकहरू बगाउँदा करोडौं क्षति भएको छ । आयात निर्यातका व्यापारिक मालसामान मात्रै करिब ५ अर्बको क्षति भएको प्रारम्भिक अनुमान छ । तर, बाढीग्रस्त क्षेत्रमा कति गाडी थिए, कति बगे भन्ने यकिन तथ्यांक आउन सकेको छैन । त्यसैले यति नै क्षति पुग्यो भन्न सकिन्न ।

यो बाढीले पुल र सडक समेत बगाएका कारण चीनतर्फको व्यापार धेरै समय प्रभावित हुने उनले बताए । ‘अब दसैंका लागि सामान आयात हुने बेला हो । त्यसो हुँदा रसुवागढी नाकाबाट हुने आयात निर्यात निकै महत्त्वपूर्ण हुन्छ,’ उनले भने, ‘यस्तो महत्त्वपूर्ण समयमा आएको बाढीका कारण चीनसँगको व्यापारमा निकै ठूलो क्षति हुने देखिन्छ ।’