२७ असार ०८२, काठमाडौं । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा कम्पनी रजिष्ट्रारमा ‘सिस्टम डाउन’ गरेर घुस डिल भएको विषय संसद्मा उठेको छ ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा भएको घुस डिल प्रकरणबारे नेकपा एकीकृत समाजवादीका सांसद घनश्याम रिजालले संसदमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा सुशासन आयोग गठन गरेको स्मरण गर्दै रोस्टमबाट सांसद रिजालले भने, ‘सिंहदरबारको एक किलोमिटर दुरीमा रहेको त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रार कार्यालयमा सर्भर डाउनको नाममा सरकारको सुशासन र सिस्टम डाउन भएको छ ।’
उनले यस विषयमा तुरुन्त छानबिन र कारबाहीको लागिसम्बन्धित निकायको ध्यानाकर्षण पनि गराए ।













