३ साउन ०८२, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्री केपी शर्मा ओलीले रामबहादुर थापा ‘बादल’ तर्साएरै एमाले भित्र्याएको आरोप लगाएका छन् ।
शनिबार पार्टीको गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रमलाई बोल्दै उपमहासचिव पुनले यस्तो बताएका हुन् ।
पुनले भने, ‘नेकपा हुँदा पनि बादलजीको छोराको फाइल तयार गरेर राख्नुभयो । लास्टमा उहाँलाई नै एमालेमा लैजानुभयो ।’
ओलीको चरित्रबारे लामो चर्चा गर्दै नेता पुनले परराष्ट्रमन्त्री समेत रहेकी कांग्रेस नेतृ आरजु राणा देउवालाई पनि तर्साउने काम गरेको बताए ।
‘हेर्दै जानुस् कांग्रेस गठबन्धनबाट अलिकति चल्मलाउन थाल्यो, नेतृत्व आफैंले लिने कि भन्ने भएपछि अब आरजुका आमा छोरा (जयवीर) को पालो हो भनेर कांग्रेस नेतृत्वलाई तर्साइरहनुभएको छ । यो ओलीजीको तरिका हो,’ उनले भने ।
उपमहासचिव पुनले भिजिट भिसा प्रकरणमा समेत प्रधानमन्त्री ओलीले रमेश लेखक र टेरामक्स खरिदमा मोहनबहादुर बस्नेतलाई तानेर ओलीले कांग्रेस सभापति शेरबहादुर देउवामाथि दबाब बढाएको दाबी गरे ।













