पहुँचवालाबाट सरकारी गाडी दुरुपयोग : तुरुन्त फिर्ता गराउने सचिव बैठकको निर्णय

६ साउन ०८२, काठमाडौं । पहुँचवालाबाट सरकारी गाडी दुरुपयोग भएको पाइएपछि सरकारले तुरुन्त फिर्ता गराउने निर्णय गरेको छ ।

मुख्य सचिवको नेतृत्वमा सोमबार बसेको सचिवहरुको बैठकले यदि कुनै पदाधिकारी वा कर्मचारीले प्रचलित मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेको भए तुरुन्त फिर्ता गराउने भनी निर्णय गरेको हो ।

सचिव बैठकको निर्णयमा भनिएको छ, ‘मन्त्रालय, आयोग, सचिवालय, विभाग, बोर्ड, संस्थान, प्राधिकरण समिति आदि निकायका सवारी साधनहरू र प्रयोगकर्ताको विवरण पठाउन बाँकी मन्त्रालयहरूले तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने, यदि कुनै पदाधिकारी/कर्मचारीहरूले प्रचलित मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेको भए तुरुन्त फिर्ता गर्ने, गराउने ।’

मन्त्रालयमा रहेका सम्पूर्ण सवारी साधनको विवरण पब्लिक एसेट म्यानेजमेन्ट सिस्टम (पी.ए.एम.एस.) प्रणालीमा अनिवार्य प्रविष्ट गर्ने व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ ।