जेष्ठ नागरिकका माग पूरा गर्न सक्दो सहयोग गर्छु – अध्यक्ष प्रचण्ड

९ साउन ०८२, काठमाडौं । जेष्ठ राष्ट्रिय नागरिक महासंघले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी जेष्ठ नागरिकसम्बन्धी विभिन्न मागहरू राखेका छन् ।

बिहीबार महासंघका प्रतिनिधिहरुले अध्यक्ष निवास खुमलटारमा भेट गरी यातायातमा छुट, नागरिकता नपाएका जेष्ठ नागरिकको पहिचान र व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणालीमा सुधार लगायतका माग राखेका हुन् ।

महासंघले आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था तथा राष्ट्रिय सभामा जेष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग समेत अध्यक्ष प्रचण्डसँग राखेका छन् ।

खासगरी २५ सयभन्दा बढी जेष्ठ नागरिक नागरिकताविहीन रहेको र यसले उनीहरूलाई राज्यका सेवाबाट वञ्चित बनाएको भन्दै यो समस्या समाधान गर्न नेतृत्व लिइदिन महासंघले अनुरोध गरेको छ ।

महासंघका मागहरूलाई गम्भीरतापूर्वक सुनेपछि अध्यक्ष प्रचण्डले महासंघलाई आश्वस्त पार्दै भने, ‘तपाईंहरूले उठाएका मागहरू अत्यन्तै न्यायसंगत छन् । म आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछु । यी मागहरूलाई पूरा गराउने दिशामा हाम्रो पार्टी माओवादी केन्द्रले सकारात्मक पहल गर्नेछ ।’