दलाल पुँजीपति, बिचौलियाहरूले राज्यलाई विध्वंस पारिरहेको प्रचण्डको भनाई

१० साउन ०८२, काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अहिले दलाल पुँजीपति, बिचौलियाहरूले राज्यलाई विध्वंस पारिरहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

नेपालको अर्थतन्त्रलाई, नेपालको विकास प्रक्रियालाई केही मुठ्ठीभर दलालहरुले आफ्नो कब्जामा लिएको बताउँदै उनले नेपालको विकास र समृद्धिको यात्रामा मुख्य बाधक नोकरशाही पुँजीवाद भएको बताए ।

उनले भने, ‘आजभोलि साँच्चै दयनीय स्थिति छ । हामीले विधायिकातिर हेर्छौं, लाजमर्दो । अस्ति भर्खरै संघीय निजामती विधेयकमाथि के भयो छेडखानी ?’ उनले भने, ‘सबै सांसदहरु अपमानित हुने गरी चलखेल र छेडखानी कसले ग¥यो ?’

अब दलाल पुँजीवादका विरुद्ध एक हुँदै जाँदा कम्युनिष्ट एकता त्यहीँबाट सुरु हुन सक्ने भन्दै उनले पुष्पलाललाई केन्द्रबिन्दुमा राखेर, नेता मानेर एकताको प्रयास गनुपर्नेमा समेत जोड दिए ।

अध्यक्ष प्रचण्डले दलालहरूको पनि दलाल भएर काम गर्ने कम्युनिष्ट नेता ‘कम्युनिष्ट’ हुन नसक्ने बताए ।