१२ साउन, हेटौंडा । बागमती प्रदेश सरकारको मुख्यमन्त्री बहादुरसिंह लामाविरूद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसद २२ जना पुगेको छ ।
खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्यामकुमार खड्काले राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेपछि मुख्यमन्त्री लामाविरूद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसद २२ जना पुगेको हो ।

साउन ९ गते बागमती प्रदेशका चार जना मन्त्रीहरू युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका थिए । उनीहरूले राजीनामा दिएपछि सोही दिन साँझ मुख्यमन्त्री लामाले पदमुक्त भएको पत्र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पठाएका थिए ।
कांग्रेस केन्द्रीय सदस्य राजन केसीले काँग्रेस बागमती प्रदेश संसदीय दलभित्रको विवाद समाधान गर्न मुख्यमन्त्री लामा र सांसद इन्द्रबहादुर बानियाँलाई सँगैराखेर छलफल गरेपनि निष्कर्षमा पुग्न सकेको छैन् ।
बागमतीका मुख्यमन्त्री लामालाई उनकै दलका सांसदहरूले संसदीय दलको नेताबाट हटाउन नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । कांग्रेस संसदीय दलको विधानअनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री हुन्छन् ।
आर्थिक वर्ष ०८२-८३ को बजेट निर्माणका क्रममा मुख्यमन्त्री, मन्त्री र सांसद बीच विवाद चुलिएको थियो ।













