
ललितपुर । नेपाल पत्रकार महासंघ, ललितपुर जिल्ला शाखाले ‘राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ ।
ललितपुर झम्सीखेलका लक्ष्मणबहादुर बिष्टले स्वर्गीय राधा विष्टको स्मृतिमा एक लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्न बिहीबार ललितपुर शाखासँग सहमति पत्रमा हस्ताक्षर गरेसँगै शाखाले ‘राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको हो ।
‘राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार’ नाम दिइएको उक्त पुरस्कारको लागि लक्ष्मणबहादुर बिष्टले सहमति जनाएको रकमको वार्षिक ब्याजबाट हरेक वर्ष एक जना क्रियाशील पत्रकारलाई सम्मान गरिने ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले जानकारी दिए ।
उक्त सहमति पत्रमा महासंघ ललितपुर शाखाका तर्फबाट अध्यक्ष रामहरि कार्की र कोषका तर्फबाट लक्ष्मणबहादुर बिष्टले सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।
पुरस्कार अर्थ, राजनीति, अपराध, कृषि, धर्म, संस्कृति तथा कलाका क्षेत्रहरूमा कलम चलाउने क्रियाशील पत्रकारलाई प्रदान गरिने शाखाकी उपाध्यक्ष केशरी पुनले बताइन् ।
सहमति–पत्रअनुसार पुरस्कारको सम्पूर्ण कार्यविधि तथा छनोट प्रक्रिया महासंघले निर्माण गर्नेछ । पुरस्कार प्राप्त गर्न नेपाल पत्रकार महासंघ ललितपुर शाखामा आबद्ध सदस्य मात्र योग्य हुनेछन् ।













