२४ साउन ०८२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिई स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री ओली तुर्कमेनिस्तानमा भएको भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को सम्मेलनमा भाग लिई आज स्वदेश फर्किएका हुन् ।
उनलाई स्वागत गर्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पुगेका थिए ।
तुर्कमेनिस्तानमा अगष्ट ५ देखि ८ सम्म भएको एलएलडिसीको सम्मेलनमा एसिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ वटा भूपरिवेष्ठित विकासशील देशले भाग लिएको थियो ।
उक्त सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए ।
यसअघि भूपरिवेष्ठित विकासशील देशहरूको दोस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन सन् २०१४ को नेभेम्बर ३ देखि ५ सम्म अस्ट्रियाको भियनामा भएको थियो ।













