२४ साउन ०८२, धनगढी । कैलाली कारागारभित्रै कैदीबन्दीबीच झडप हुँदा विकसित घटनालाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले विकसित घटना नियन्त्रणमा लिन कारागार परिसरमा ५० जना सुरक्षाकर्मी परिचालन भएको बताए ।
‘कारागारमा उत्पन्न परिस्थितिलाई सामान्य बनाइराख्न कारागार परिसरमा ५० जना सुरक्षाकर्मी परिचालन गरेका छौँ’, उनले भने, ‘झडपको घटनापछि कैदीबन्दीका आफन्त भेट्न पुगिरहेकाले भेटघाटको व्यवस्थापन गरिरहेका छौँ ।’
कारागारमा कैदीबन्दीबीच शुक्रबार राति भएको झडपका धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको उपचारका क्रममा आज मृत्यु भएको थियो ।
घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा आजै बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा घटनाको छानबिनका लागि समिति गठन गरेको छ ।
उक्त घटनामा ४४ कैदीबन्दी घाइते भएको र उनीहरुको सेती प्रादेशिक अस्पताल नजिकै निर्माण गरिएको अस्पतालमा उपचार भइरहेको छ ।













