२९ साउन ०८२, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले अध्ययन बिदाको दुरुपयोग रोक्न हेल्प डेस्क स्थापना गरेको छ ।
बिदाको दुरुपयोग गर्ने प्राध्यापक र कर्मचारीबाट रकम फिर्ता गराउन त्रिविले बुधबार हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको हो ।
त्रिविका उपप्राध्यापक डा. जीवन काफ्लेको संयोजकत्वमा हेल्क डेस्क स्थापना गरिएको छ ।
यसअघि अध्ययन बिदा लिएर गएका प्राध्यापक विदेशमै लुक्ने गरेको समाचार प्रकाशित भएपछि खोजबिन गर्न काफ्लेकै संयोजकत्वमा खोजबिन समिति बनाइएको थियो । समितिले खोजबिन गरी प्रतिवेदन बुझाइ सकेको छ । उक्त प्रतिवेदनलाई कार्यान्वयन गर्न हेल्क डेस्क स्थापना गरिएको हो ।
‘तीन वर्ष बिदामा बसेको छ भने कति तलब खाएको छ त्यो सम्बन्धित क्याम्पसले दिएको विवरण अनुसार १० प्रतिशत ब्याज जोडेर फिर्ता गर्नुपर्छ । चक्रिय ब्याज भने लाग्दैन,’ उपकुलपति अर्यालले भने, ‘यदि फर्केर तीन वर्ष काम गरेको छ भने फिर्ता गर्नुपर्दैन ।’
उनले अध्ययन बिदा सकिएपछि राजीनामा स्वीकृति गराएको छ भने राजीनामा स्वीकृत गरेको मितिसम्म्को मात्र पैसा फिर्ता लिने निर्णय पनि त्रिविले गरेको बताए ।













