३० साउन ०८२, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा मौलिक विकास आवश्यक रहेको बताएका छन् ।
भक्तपुरको चाँगुनारायणलाई एभोकाडो सिटीको रुपमा विकास गर्ने अभियानको आज समापन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
विदेशीको नक्कल गर्दा सिर्जनात्मक प्रयोग र सम्भावनाको सदुपयोग हुन नसक्ने भन्दै देशलाई आत्मनिर्भर बनाउन मौलिक विकासका लागि ढिलो गर्न नहुने बताए ।
उनले विदेशीको नक्कल गर्नुको साटो स्थानीय स्रोत, साधनको सदुपयोग गर्दै अभियान अघि बढाए मौलिक विकासको मोडेलसहितको देश बन्ने बताए ।
‘हामीकहाँ अलि बढी विदेशी नक्कल गर्ने जो भयो, त्यो दुर्भाग्यपूर्ण छ,’ प्रचण्डले भने, ‘हाम्रो सिप, हाम्रो श्रम, हाम्रो स्रोत र हाम्रो साधनलाई हाम्रै तरिकाले अगाडि बढाउने कुराको एउटा अभियान चलाउन सकियो भने मलाई लाग्छ नेपाल साँच्चै संसारभरिकै सुन्दर त यसै छ, यसलाई मौलिक विकासको मोडेलसहितको देशमा बदल्न सकिन्छ ।’













