थारू समुदायले आज विविध कार्यक्रम गरी अटवारी पर्व मनाउँदै

८ भदौ, दाङ । थारू समुदायले आज विविध कार्यक्रम गरी अटवारी पर्व मनाउँदै छन् ।

थारू अगुवा राजेन्द्र चौधरीका अनुसार रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर दिदीबहिनीका लागि छुट्याई बनाइएका पारिकार खाँदै यो पर्व मनाउने प्रचलन छ ।

उनले शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाएर खाने चलन थारु समुदायमा रहेको पनि बताए ।

उनका अनुसार आफ्ना दिदीबहिनीका घरमा कोसेली पुगेपछि अटवारी पर्व समाप्त हुन्छ । यो पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध पनि प्रगाढ हुने विश्वास थारू समुदायमा छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बर्का अट्वारी पर्वका अवसरमा थारू समुदायको बसोबास बाहुल्य रहेको दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना सार्वजनिक गरेको छ ।