प्रचण्डले दिए नेपाल पर्वतारोहण संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई

९ भदौ ०८२, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल पर्वतारोहण संघ (एनएमए)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएका छन् ।

प्रचण्डले नवनिर्वाचित अध्यक्ष फुर्वा गेल्जे शेर्पासहितको कार्यसमितिलाई आफ्नै निवास खुमलटार बोलाएर बधाई दिएका हुन् ।

शेर्पाले सत्तारूढ नेपाली कांग्रेस, नेकपा (एमाले)लगायत दलहरुको संयुक्त गठबन्धनलाई पराजित गर्दै प्यानलसहित विजयी भएका थिए ।

शुभकामना तथा बधाईका साथै प्रचण्डले पर्वतीय पर्यटन व्यवसायको विकासमा संघले महत्वपूर्ण योगदान दिनसक्ने विश्वास व्यक्त गरे ।

‘नेपालमा पर्वतीय पर्यटन व्यवसायको विकास हुनुपर्छ । अहिले निर्वाचित हुनुभएको अध्यक्षलगायत सम्पूर्ण पदाधिकारी र निर्वाचन प्रक्रियामा सहयोग गर्ने सबैलाई म हाम्रो पार्टी र मेरो तर्फबाट हार्दिक बधाई दिन चाहन्छु । एनएमएलाई अझ सशक्त र प्रभावकारी संस्थाका रूपमा अगाडि बढाउन तपाईंहरूको भूमिकामा मेरो पूर्ण समर्थन रहनेछ ।’

उनले हाल अन्तिम चरणमा पुगेको पर्यटन सम्बन्धी विधेयक पारित गराउन आफूले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता पनि गरे ।