१७ भदौ ०८२, बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले रातिको समयमा राजमार्ग र शाखा सडकहरूमा सवारीसाधन नचलाउन भनेको छ । आकस्मिक अवस्थामा बाहेक यात्रा नगर्न पनि प्रशासनले जिल्लावासीलाई आग्रह गरेको छ ।
जिला प्रशासन कार्यालयले सुदूरपश्चिम प्रदेशको बैतडी लगायतका जिल्लामा तीन दिनदेखि लगातार वर्षा हुँदा महाकाली नदीको सतह बढेकाले किनारका बासिन्दालाई चनाखो रहन आग्रह गरेको हो ।
बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले विपदको जोखिम भएकाले घटना भएको अवस्थामा तत्काल परिचालित हुनेगरी तयारी अवस्थामा रहन सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् ।
प्रजिअ पौडेलले भने, ‘मनसुनजन्य विपद्का सम्भावनालाई मध्यनजर गर्दै आवतजावतमा विशेष सावधानी अपनाउन, अत्यावश्यकबाहेक यात्रा नगर्न, रातको समयमा जोखिमयुक्त स्थानमा नबस्न, नदी–खोल्सामा नजान तथा आपत्कालीन अवस्थाबाहेक रातिको समयमा सवारीसाधन नचलाउन र यात्रा नगर्न अनुरोध गरिएको छ ।’













