सीमा समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल लिनुपर्ने प्रचण्डको भनाई

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल लिनुपर्ने बताएका छन् ।

सोमबार साँझ सम्पन्न एशिया प्रदेश संगठन समितिको भर्चुअल विस्तारित बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

आफ्नो प्रधानमन्त्रीत्वकालमा भारत भ्रमणका क्रममा लिपुलेक र कालापानीको विषयमा भारतीय प्रधानमन्त्रीसँग संवाद गरेर सार्वजनिक घोषणा गराएको स्मरण गराउँदै प्रचण्डले भने, “सीमा समस्या कूटनीतिक पहलबाटै समाधान गर्नुपर्छ भन्नेमा माओवादी केन्द्र स्पष्ट छ ।”

उनले भने, “कामरेडहरूलाई यो पनि थाहा हुनुपर्छ । राष्ट्रियताको बारेमा, नेपालको सिमाना र लिपुलेकका बारेमा म पछिल्लो पटक प्रधानमन्त्रीको रूपमा भारत भ्रमणमा जाँदा, कालापानी र लिपुलेकको विषयमा गम्भीर ढंगले कुरा गरी, इतिहासमा पहिलो पटक मेरो नेतृत्वमा रहेको सरकारले नै भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल–भारतको सीमा समस्या संवादबाट समाधान गरिन्छ भनेर सार्वजनिक घोषणा गर्न लगाएको हो । मैले मेहनत गरेर समाधान गर्नुपर्छ भन्नेमा पुर्याएका थियौँ । अहिलेको सरकारले कूटनीतिक पहलबाट सीमा समस्या समाधान गर्न पहल लिनुपर्छ भन्नेमा माओवादी केन्द्र स्पष्ट छ ।”

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रवासी क्षेत्रमा क्रियाशील नेताकार्यकतालाई पार्टीको मूलधारमा ल्याउन विशेष प्रयास थालिएको जानकारी दिए । उनले भने, “पछिल्लो स्थायी समितिको बैठकपछि विभिन्न प्रदेशहरूको बैठक बस्ने क्रम जारी छ । केही प्रदेशहरूको बैठक बसेका छौँ । यो पाँचौँ प्रदेशको बैठक हो । अहिले समय अभाव भयो, छिट्टै प्रवासका सबै साथीहरूको कुरा सुन्ने गरी अन्तरक्रियात्मक अर्को बैठक बस्ने प्रतिबद्धता व्यक्त गर्दछु । अहिले प्रवासमा ठूलो संख्यामा जनशक्ति रहेका हुँदा प्रदेशहरू बढाउने र प्रवासलाई महत्व दिइएको छ ।”

“पार्टीले राम्रोसँग महसुस गरेको छ कि, मध्यपूर्व र एसियालाई महत्व नदिए पार्टीलाई राम्रोसँग अगाडि बढाउन सकिन्न । प्रवासमा रहेका साथीहरूलाई पार्टीमा महत्व दिने गरी थप निर्णय गर्छौँ,” उनले भने ।
पार्टीले मध्यपूर्व र एसियामा रहेका कार्यकर्ताको योगदानप्रति आभार व्यक्त गर्दै, “प्रवासी जनशक्तिलाई बेवास्ता गरेर पार्टी अघि बढ्न सक्दैन,” भन्दै संगठन विस्तारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

सो क्रममा अध्यक्ष प्रचण्डले पार्टीभित्र गुटबन्दी र अराजक व्यवहार सह्य नहुने बताए । उनले जनवादको अभ्यास गर्दै केन्द्रीयता कायम गर्ने प्रयास भइरहेको र सबै नेता–कार्यकर्ताले आफूलाई लागेका विषय आन्तरिक बैठकहरूमा खुला ढंगले राख्दै पार्टी अनुशासन पालना गर्नुपर्नेमा जोड दिए ।

“लामो छलफल र बहस गरेर स्थायी समिति बैठकले पार्टीमा अराजकता देखिए कारबाही गर्ने निर्णय सर्वसम्मतिले लिएको छ,” प्रचण्डले भने, “कसैले पार्टीको नीति र पद्धति विपरीत लेख्ने–बोल्ने गरेको भए अनुशासनको स्पष्टिकरण सोध्ने काम गर्न निर्देशन दिन्छु ।”

अनुशासनको स्पष्टिकरण सोध्दा पार्टीका आन्तरिक बैठकहरूमा जो–सुकैलाई पनि आफूलाई लागेको विचार राख्ने र बहसको वातावरण बनाउने काम गर्नुपर्ने उनले बताए ।

अध्यक्ष प्रचण्डले पार्टीलाई जनतामैत्री, संगठित र एकीकृत बनाउँदै जनविश्वास पुनः आर्जन गर्नेतर्फ लाग्न सबै कार्यकर्तालाई आह्वान गर्दै पार्टी फेरि अभियानमा जाँदै गरेको पनि सुनाए ।

“केही मान्छेहरूले कांग्रेस, एमाले र माओवादी एउटै हो भन्न खोजे पनि आम जनताले जनताको पक्षमा काम गर्ने त माओवादी केन्द्र नै रहेछ भन्ने महसुस गरेका छन्,” उनले थपे, “पछिल्लो समय म विभिन्न कार्यक्रममा बाहिर जाँदा कांग्रेस र एमालेका स्थानीय नेताहरूले मलाई भेट्दा, ‘यो परिवर्तन माओवादीले ल्याएको हो । यसको रक्षा पनि माओवादीले नै, प्रचण्डले नै भूमिका खेल्नुपर्छ, भन्छन् ।”

अध्यक्ष प्रचण्डले माओवादी केन्द्र्रले विगतमा सामाजिक न्याय, सुशासन र अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा खेलेको भूमिकालाई जनताले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै थप सुधार र अभियानका लागि तयारी अवस्थामा रहन निर्देशन पनि दिए ।

बैठकमा माओवादी केन्द्रीय सदस्य डिबी क्षेत्रीले आफ्नो रिपोर्ट प्रस्तुत गर्दै एशिया क्षेत्रमै २८ लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेको र त्यसअनुसार महत्व दिनुपर्ने आवश्यकता औंल्याए ।