
२३ भदौ ०८२, काठमाडौं । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौं राष्ट्रिय सम्मेलन एक सय ९२ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै भदौ २७ गतेसम्मका लागि स्थगित गरिएको छ ।
नेकपा (माओवादी केन्द्र) निकट महिलाको राष्ट्रिय सम्मेलन अध्यक्ष पदका लागि हानथाप भएको कारण २७ भदौसम्म स्थगित भएको हो ।
अध्यक्ष पदमा दामा शर्मा र प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको सभापति विमला सुवेदी मुख्य दाबेदार छन् ।

यतिबेला पार्टी अध्यक्ष प्रचण्डसहितका नेताहरू मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी जागरण अभियानमा व्यस्त रहेकाले पदाधिकारी टुंगो नलागेको अध्यक्षकी दाबेदार शर्माले बताएकी छन् ।
उनले संगठनमा कुनै विवाद नभएको बताउँदै भनिन्, ‘अभियानको उदघाटन लगायतका काममा हाम्रो पार्टी अध्यक्षसहितका नेताहरु व्यस्त हुनुपर्ने भएकाले पदाधिकारी टुंगो लगाउन भ्याइएन । संगठनमा नेतृत्वबारे छलफल र बहस भएको छ, विवाद भएको छैन् ।’
अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौं राष्ट्रिय सम्मेलन यही भदौ १८ गतेदेखि २० गतेसम्म काठमाडौंमा आयोजना गरिएको थियो । पार्टी अध्यक्ष प्रचण्डले १८ गते प्रज्ञा भवन कमलादीमा सम्मेलन उदघाटन गरेका थिए ।
१९ र २० गते क्विन्स पार्टी प्यालेस धुम्बाराहीमा बन्दसत्र आयोजना गरियो । त्यहाँ मुख्य गरी अध्यक्ष पदमा विवाद हुँदा सम्मेलन २१ गतेसम्म लम्बियो । २१ गते प्रतिनिधिहरुलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको थियो । तर त्यहाँ पनि बन्दसत्र सुरु हुन नसकेपछि सम्मेलन २७ गतेसम्मका लागि स्थगित गरिएको हो ।













