जनघातकाे मतियार नबन्ने भन्दै एमालेका विद्यार्थी पराजुलीले दिए राजीनामा

कास्की । नेकपा एमाले निकट अनेरास्ववियुका गण्डकी प्रदेशका सहसंयोजक विश्वदर्शन पराजुलीले सामाजिक सञ्जालबाटै आफ्नो पार्टी सदस्यता परित्याग गरेका छन् ।

आज भाद्र २३ गते साेमबार १९ जनाको ज्यान जाने गरी भएको जेन-जीको प्रदर्शनमा सरकारले गरेको दमनलाई लिएर गण्डकीका अनेरास्ववियु सहसंयोजक पराजुलीले पार्टी सदस्यता परित्याग गरेका हुन् ।

सरकारले जनताप्रति घात गरेको हुँदा त्यसको मतियार बन्न नसक्ने भन्दै उनलेे लेखेका छन् :

“यतिबेला पारिवारिक दुखमा सुनवल छु । मेरो पार्टी र मेरो पार्टीले नेतृत्व गरेको सरकारले जब म र म जस्ता युवासँगै सिंगो राज्य र जनताप्रति घात गर्छ भने म यसको मतियार बनिरहन सकिन । २०६९ सालदेखि बुझाएको मेरो पार्टी सदस्यता शुल्क केही लोभोपापी सिनियरहरूले खाइदिएपश्चात २०७१ सालदेखि लिएको मेरो पार्टी सदस्यता ११ वर्ष पुगेछ ।

२०६७ सालदेखिको प्रत्यक्ष विद्यार्थी राजनीतिले १५ वर्ष टेकेछ । राजनीतिका हरेक यात्रामा साथ, सहयोग दिनुहुने सम्पूर्णमा आभार । पार्टीभित्रका तमाम इमान्दार र योग्य अनुज, सहपाठी र अग्रज नेता कार्यकर्तासँग क्षमायाचना गर्दै यो १५ वर्षको राजनैतिक यात्रामा पार्टी, सरकारबाट कुनै लाभ नलिएको र कुनै व्यक्ति वा संस्थाबाट एक रुपैयाँ पनि चन्दा नलिएको म एक कार्यकर्ताले जति दिएँ पार्टीलाई दिएँ अब देशलाई दिने विचारका साथ आजैका मितिदेखि नेकपा एमालेको पार्टी सदस्यता निष्क्रिय पार्दै अनेरास्ववियुमा रहेको मेरो सांगठनिक जिम्मेवारीबाट राजीनामा दिएको स्वघोषणा गर्दछु ।”