२४ भदौ ०८२, काठमाडौं । जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका १६ जनाको पहिचान भएको छ ।
हिजो भाद्र २३ गते जेन-जी आन्दोलनका क्रममा गोली लागेर १७ जनाको मृत्यु भएकोमा १६ जनाको पहिचान खुलेको हो ।
ट्रमा सेन्टरमा कीर्तिपुरका ४१ वर्षीय बुद्धबहादुर तामाङ, उदयपुरका बेलका ४ का २९ वर्षका सन्तोष विक, बाँकेका २५ वर्षका सुलभदास श्रेष्ठ, ठेगाना नखुलेका १९ वर्षका सयिम चौलागाई, काठमाडौं बनस्थलीका २६ वर्षका ईश्वर अधिकारी, वतन नखुलेको २९ वर्षका आयुष थापा, वतन नखुलेको २७ वर्षका गौरव जोशी, सिन्धुपाल्चोक बाह्रबिसे ६ का २१ वर्षीय योगेश श्रेष्ठको मृत्यु भएको पहिचान भएको हो ।
त्यसैगरी सिभिल अस्पतालमा अर्घाखाँचीका १८ वर्षका निश्चल सारु मगर, गोरखा बारपाक सुलीकोट ५ का २२ वर्षका विमल भट्ट र अर्का एक जनाको नाम र ठेगाना नखुलेका युवाको मृत्यु भएको छ ।
बनस्थलीका वर्ष ३० का सौरभ किशोर श्रेष्ठ, बझाङ घर भई कीर्तिपुर बस्ने २३ वर्षीय सुशन बोहोराको केएमसी अस्पतालमा मृत्यु भएको छ । त्यसैगरी त्रिवि शिक्षण अस्पतालमा २३ वर्षका रसिद खतिवडाको मृत्यु भएको छ ।
बानेश्वरको एभरेष्ट अस्पतालमा ललितपुर महानगर ७ का ३० वर्षका विनोद महर्जन, काभ्रे तिमालका ४२ वर्षका दली नारायण तामाङ र भक्तपुर दुवाकोटका २३ वर्षका योगेन्द्र न्यौपाने रहेका छन् ।
‘जेन जी’ पुस्ताले इटहरीमा आयोजना गरेको प्रदर्शनमा पनि दुई जना युवाको मृत्यु भएको थियो । यो सँगै देशभर जेन–जी प्रदर्शनमा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।













