सत्यतथ्य, सन्तुलित र विश्वसनीय समाचार प्रेषित पत्रकार महासंघको आग्रह

२५ भदौ ०८२, काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति पत्रकार र सञ्चार संस्थाहरूलाई निषेधित क्षेत्रमा कफ्यूको समयमा कार्यक्षेत्रमा पत्रकारको परिचय खुल्ने परिचयपत्र बोक्न, सम्भव भए प्रेस लेखेको ज्याकेट लगाउन आग्रह गरेको छ ।

बुधबार एक सुचना जारी गरी महासंघले मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको र यो समयमा अहोरात्र पेसागत धर्म निर्वाह गरिरहेका पत्रकार उच्च प्रशंसा गर्दै यस्तो बताएको हो ।

‘निषेधित क्षेत्रमा र कफ्यूको समयमा कार्यक्षेत्रमा खटिंदा पत्रकारको परिचय खुल्ने परिचयपत्र बोक्न, सम्भव भए प्रेस लेखेको ज्याकेट लगाउन, समुहमा रहन, आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सुरक्षाका उपायहरू अवलम्बन गर्न सबै पत्रकार साथीहरूसंग महासंघ आग्रह गर्दछ,’ अपिलमा भनिएको छ, ‘सञ्चारगृह र पत्रकारको सुरक्षामा ध्यान दिन सञ्चार सम्बद्ध व्यवस्थापन पक्षसंग अनुरोध गरिन्छ । साथै, महासंघ पत्रकार तथा सञ्चार माध्यममाथि धम्की, त्रास, आक्रमण र अवरोध सिर्जना भए महासंघका सम्बद्ध शाखा र संस्था, प्रदेश समिति र केन्द्रीय कार्यालयमा जानकारी गराउन हुन हार्दिक अनुरोध गर्दछ ।’

उक्त अपिलमा संविधान र कानुनबाट सुरक्षित प्रेस स्वतन्त्रताको उपभोग तथा पत्रकार आचारसंहिताको पालना गर्दै जिम्मेवार पत्रकारितामार्फत सत्यतथ्य, सन्तुलित र विश्वसनीय समाचार प्रेषित गर्नु र गर्न पाउनु हाम्रो अधिकार र कर्तव्य भएको उल्लेख गरिएको छ ।

जनतालाई सुसूचित गर्ने दायित्व पूरा गर्ने सिलसिलामा कहींकतैबाट अवरोध नहोस् भन्नेमा महासंघ सचेत रहेको भन्दै अपिलमा सम्बद्ध पक्षहरूसँग समन्वयको कार्य पनि भइरहेको उल्लेख छ ।