२६ भदौ ०८२, काठमाडौं । बृहत नागरिक आन्दोलनले जेन-जी क्रान्तिलाई सफल बनाऔं, प्रतिक्रान्तिलाई परास्त गरौं भन्दै विज्ञप्ति निकालेको छ ।
आन्दोलनले आज बिहान निकालेको विज्ञप्तिमा जेन–जीको आन्दोलनका शहीदहरूको लाशमाथि टेकेर सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र नगरियोस् भन्दै जेन–जी क्रान्तिलाई सफल बनाउनु पर्ने बताएका हुन् ।
‘जेनजी आन्दोलनको म्यान्डेट र बलिदानीहरूको आवाज न गणतन्त्र र धर्मनिरपेक्षता हटेर पश्चगमन होस् भन्ने थियो न सेनाको असंवैधानिक सक्रियता बढोस् भन्ने थियो’ विज्ञप्तिमा भनिएको छ, ‘जेनजीको आन्दोलनमा घुसपैठ गर्ने र दोस्रो दिनदेखि संगठित र लामो समयदेखि तयारी गरेअनुसार नागरिकप्रति उत्तरदायी सबै राज्यका संस्थाहरू र निजी क्षेत्रको भौतिक, आर्थिक र मनोवैज्ञानिक दहन गर्ने तत्वहरू अहिले सैनिक मुख्यालयमा बसेर सेनाको आतिथ्यमा वार्ता गरिरहेको कुरा असाध्यै डरलाग्दो र अस्वीकार्य छ । नेपाली सेनाको यो किसिमको भूमिका अति खेदपूर्ण छ र अविलम्ब सँच्च्याइनु पर्छ ।’
अब बन्ने नागरिक सरकारमा प्रतिक्रान्तिकारीहरूको कुनै पनि स्थान हुन नहुने भन्दै विज्ञप्तिमा उल्लेख छ, ‘जेनजी क्रान्तिलाई सफल बनाऔं । प्रतिक्रान्तिलाई परास्त गरौं । शहीदको बलिदानलाई सार्थक बनाऔं ।’














