२६ भदौ ०८२, काठमाडौं । विभिन्न नागरिक र सामाजिक संस्थाहरूले संवैधानिक व्यवस्थाभित्र रहेर जेन–जी पुस्ताका भावना सम्बोधन हुने गरी सरकार गठन र विधिको शासन लागू गर्नुपर्ने बताएको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै जेन–जी युवा पुस्ताहरूको आह्वानमा भएको आन्दोलन र देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै ४४ वटा सामाजिक संस्था साथै २१ जना सामाजिक अभियान्ताले यस्तो बताएका हुन् ।
“आन्दोलनमा भएको अत्यधिक बल प्रयोग, सार्वजनिक सम्पत्ति, ऐतिहासिक सम्पदा, व्यक्तिगत तथा निजी सम्पत्ति, व्यापारिक केन्द्र, राजनीतिक दलका कार्यालयहरू, विभिन्न सरकारी कार्यालयहरूमा गरिएका आगजनी, तोडफोड र हिंसाको घटनाप्रति हामी कडा निन्दा र भत्र्सना गर्दछौं,” विज्ञप्तिमा उललेख छ, “यी घटनाहरूको उच्चस्तरीय अनुसन्धान आयोग गठन गरी स्वतन्त्र र निष्पक्ष अनुसन्धानका निम्ति र दोषीमाथि कडा कानुनी कारवाही गर्न जोडदार माग गर्दछौं ।”
विज्ञप्तिमा भनिएको छ, “नेपाली जनताको बलिदानीपूर्ण संघर्षवाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाको सम्मान गर्दै अहिलेको परिवर्तनको मागलाई सम्बोधन गर्न विद्यमान हाम्रो देशको संवैधानिक व्यवस्थाभित्र रहेर र जेन जी पुस्ताका भावनालाई समेत सम्बोधन हुने गरी सरकार गठन र विधिको शासन लागू गर्न हार्दिक अपील गर्दछौं ।”
यस्तै मुलुकमा राजनीतिक संकट र आन्तरिक द्वन्द्वतर्फ बढ्नसक्ने भन्दै अन्तर्राष्ट्रिय हस्तक्षेप हुने कुरामा सचेत रहन समेत विज्ञप्तिमा ध्यानाकर्षण गराइएको छ ।















