२६ भदौ ०८२, काठमाडौं । नागरिक अगुवाहरुले नागरिक सर्वोच्चता र संवैधानिक सर्वोच्चताअन्तर्गत वर्तमान संकटबाट देशलाई पार लगाउनु पर्ने बताएका छन् ।
बिहीबार १६ जना नागरिक अगुवाले एक विज्ञप्ति जारी गरेर राष्ट्रपतिले राष्ट्रलाई सम्बोधन गर्नुपर्नेमा प्रधानसेनापतिद्वारा सन्देश आएकोमा अचम्भित भएको भन्दै नागरिक सर्वोच्चता र संवैधानिक सर्वोच्चताअन्तर्गत संकटलाई पार लगाउनुपर्ने बताएका हुन् ।
“यो कदम संविधानसम्मत नभएको हामी ठान्दछौं,” नागरिक विज्ञप्तिमा भनिएको छ, “त्यसकारण, नेपाली सेनाले विगतमा गरेको पेसागत व्यावसायिकताको प्रतिबद्धतालाई स्मरण गराउँदै कुनै पनि मूल्यमा नागरिक सर्वोच्चता र संवैधानिक सर्वोच्चताअन्तर्गत नै रही यो संकटबाट देशलाई पार लगाउनुपर्छ ।”
देशमा व्याप्त बेथिति, कुशासन, भ्रष्टाचार, सामाजिक सञ्जालमाथिको प्रतिबन्धलगायतका विषयको विरोधमा भएको ‘जेन जी’ आन्दोलनमा राज्यपक्षले अनावश्यक बल प्रयोग गरेर नागरिकको हत्या गरेको भन्दै नागरिक अगुवाले घोर भत्र्सना र निन्दा समेत गरेको छ ।
उनीरुले आन्दोलनका २ दिनमा भएको बर्बर दमन र ध्वंसात्मक अराजकताको स्वतन्त्र, निष्पक्ष छानबिन गरी दोषीहरूलाई कारबाहीको माग गर्न माग गरेका छन् ।
राष्ट्रपतिले संकट समाधानको पहलकदमी लिनुपर्ने भन्दै नागरिक अगुवाले संकटको निकास संविधानसम्मत प्रक्रियामार्फत हुनुपर्छ भनेका छन् ।














