नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण

२९ भदौ ०८२, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गरेकी छन् । जेन–जी आन्दोलनको जगमा भाद्र २७ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएकी प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहणसँगै उनले जेन–जी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने निर्णयमा हस्ताक्षर गरेकी छन् ।

मुख्य सचिव एकनारायण अर्यालले दिएको जानकारीअनुसार पदभार ग्रहण गरेपछि प्रधानमन्त्री सुशीला कार्कीले यस्तो निर्णयमा हस्ताक्षर गरेकी हुन् ।

मुख्य सचिव अर्यालले आन्दोलनका क्रममा ७२ जनाको ज्यान गएको बताए । उनले ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मीको आन्दोलनमा मृत्यु भएको पनि बताए । यस्तै आन्दोलनमा प्रदर्शनकारी एक सय ३४ जना र प्रहरी ५७ जना घाइते भएको जानकारी दिए ।