पार्टी कार्यालय पुगेर प्रचण्डले गरे जनयुद्ध र जेन-जी सहिदप्रति श्रद्धाञ्जली अर्पण

३१ भदौ ०८२, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडा, कोटेश्वर पुगेर क्षतिग्रस्त भवनको अवलोकन गरी जनयुद्ध र जेन–जी आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

मंगलबार दिउँसो कार्यालय पुगेका अध्यक्ष प्रचण्डले जेन–जी आन्दोलनमा घुसपैठ गरेर अपराधिक समूहले तोडफोड र आगजनी गरेको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको निरीक्षण गरी सहिद स्तम्भमा अगाडि उभिएर जनयुद्ध र जेन–जी आन्दोलनका सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

यस्तै अध्यक्ष प्रचण्डले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण नेता–कार्यकर्तालाई उच्च मनोबलका साथ पार्टी र जनताको काममा लाग्न आग्रह गरेका छन् ।

तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको पार्टीको केन्द्रीय कार्यालय प्राङ्गण सरसफाईमा समेत सहभागी भएका अध्यक्ष प्रचण्डसँगै उपाध्यक्ष अग्नि सापकोटा, उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिव वर्षमान पुन, सचिव क.हितमान शाक्य लगायत केन्द्रीय नेताहरू पार्टी कार्यालयमा पुगेका थिए ।