
५ असोज ०८२, भक्तपुर । जिल्लाको सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको एकैदिन तीन ठाउँमा साधारण सभा भएको छ ।
सत्र हजार ८ सय सदस्य रहेको भक्तपुरको सिद्धि गणेश सहकारीले शनिबार एकैदिन अजिमा पार्टी महल, स्टार बैंक्वेट र महेश्वरी बैंक्वेटमा गरी ३ ठाउँमा क्षेत्रगत रुपमा साधारणसभा गरेको हो ।
संस्थाको ३१ औं साधारणसभाले कोषाध्यक्ष जयराम गोर्खालीद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को श्रोत तथा उपयोग तर्फ तीन अर्ब छब्बीस करोड एकतीस लाख त्रिचालीस हजार एक सय नौ रुपैंयाँ र आय तथा व्यय तर्फ पच्चिस करोड चालीस लाख सन्तानब्बे हजार आठ सय पच्पन्न रुपैयाँको यथार्थ आर्थिक प्रगति प्रतिवेदन पारित गरेको छ ।
आ.व.२०८२/०८३ को स्रोत तथा उपयोग तर्फ तीन अर्व छतीस करोड रुपैया र आय तथा व्यय तर्फ एक्काईस करोड अठहत्तर लाख बाह्र हजार रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रमहरु पारित गरेको थियो ।
सभाले संचालक समितिको तर्फवाट सचिव विष्णु प्रसाद दुमरुद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को प्रगति प्रतिवेदन तथा आ.व. २०८२/०८३ को प्रस्तावित कार्यक्रमहरु पनि सर्वसम्मतले पारित गरेको छ ।
सभाले लेखा सुपरिवेक्षण समितिको तर्फवाट संयोजक राम प्रसाद लाखाजुद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गर्ने निर्णय गरेको थियो ।
संस्थाको संचालक समितिको निर्णय अनुसार आ.ब २०८१/८२ को शेयर पूँजीमा ६% करकट्टि सहितको दरले लाभांश वितरण गर्ने प्रस्ताब पारित गर्ने निर्णय पनि गरेको छ ।
यसैंगरी संस्थाका संचालक समितिको निर्णय अनुसार आ.ब २०८१/८२ को संरक्षित पुँजी फिर्ता कोषमा रहेको रकम मध्ये रु ५० लाख रकम नियमानुसार वितरण गर्ने प्रस्ताब पारित गर्ने निर्णय पनि साधारणसभाले गरेको छ ।
साधारणसभाअन्तर्गत अजिमा पार्टी महलमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले ३१ जनाबाट शुरु भएको सिद्धि गणेशमा हाल १७ हजार ६ सय सदस्य पुगेकोमा खुशी प्रकट गरेका थिए ।
उनले विगतमा साधारण सभामा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणीलाई सम्मान गर्दै आएकोमा अहिले राष्ट्रिय सहकारी प्राधिकरणले कुनै पनि किसिमको उपहार, सम्मान, भोजभतेर र परिवहन खर्च नदिनु भनेकाले सोहीअनुरुप साधारणसभा मितव्ययितापूर्वक सम्पन्न गरेको बताए ।
सहकारीका कोषाध्यक्ष जयराम गोर्खालीले बदलिंदो परिस्थिति र लगानीमा भएको कमीले गर्दा ७ करोड ८७ लाख नाफा कमाउने लक्ष्य राखिएकोमा आर्थिक वर्ष २०८१/८२ मा ४ करोड ६४ लाख ३२ हजार रुपैयाँ मात्र नाफा आर्जन भएको जानकारी दिएका थिए ।













