मतदाता नामावलीमा नाम छुटेकाहरुले अब आफ्नो नाम दर्ता गराउन सक्ने

८ असोज ०८२, काठमाडौं । आगामी फागुन २१ हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उमेर पुगेर मतदाता नामावलीमा नाम नरहेकाहरूले आफ्नो नाम प्रविष्ट गर्न पाउने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेपछि मतदाता नामावली संकलनको बाटो खुलेको हो ।

मतदाता नामावलीमा नाम छुटेकाहरुले अब आफ्नो नाम दर्ता गराउन सक्नेछन् । तर, त्यसअघि निर्वाचन आयोगले त्यस सम्बन्धी निर्णय गरेर मतदाता नामावली संकलनको मिति तोक्नु पर्नेछ ।

अध्यादेश जारी भएसँगै निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले कानुन बमोजिम मतदान गर्न योग्यता पुगेकाहरुको नामावली संकलनको लागि बाटो खुलेको र त्यसका लागि आयोगले आवश्यक निर्णय गर्ने बताए ।