
२३ असोज, काठमाडौं। नेकपा एमालेका नेता महेश बर्तौलाले गृहमन्त्री ओमप्रकाश अर्याललाई पदबाट बर्खास्त गरी राज्य विरुद्धको अपराधमा तत्काल गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइनु पर्ने बताएका छन् ।
जेनजी विद्रोहको क्रममा प्रहरीबाट लुटिएका हतियार कहाँ छ भन्ने बारे गृहमन्त्री अर्याललाई शतप्रतिशत थाहा भएको जिकिर गर्दै बर्तौलाले उनलाई बर्खास्त गर्नुपर्ने बताएका हुन् ।
बिहीबार सामाजिक सञ्जालमा नेता बर्तौलाले गृहमन्त्री अर्यालले आन्दोलनमा घुसपैठको नेतृत्व गरेको आरोप लगाउँदै भनेका छन्, ‘प्रहरीबाट लुटिएका बन्दुक, गोली लगायतका हतियारहरू कहाँ र कोसँग छ भन्ने सूचना र जानकारी अहिलेका गृहमन्त्रीलाई शतप्रतिशत रहेको हुनुपर्दछ । किनभने, भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागसहित जेनेरेसन जेडले गरेको शान्तिपूर्ण आन्दोलनभित्र सुनुयोजित घुसपैठ गरी शान्ति भंग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने कामको यिनी चौबिसै क्यारेटका स्टेकहोल्डर हुन् ।’
उनले राज्यविरुद्धको अपराधमा गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गरिनुपर्ने भन्दै लेखेका छन्, ‘सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, अख्तियार भवन र प्रहरी चौकीहरू लगायतमा आगो लगाएर ध्वस्त बनाउन नेपाल राष्ट्रका विरुद्ध परिचालित र निर्देशित मतियार पनि हुन् यिनी । शुद्ध नेपाली जेनजीहरूले पनि यो कुरा बुझून् कि शान्तिपूर्ण आन्दोलनभित्र उनको घुसपैठको यही नाता सम्बन्ध रहेकै कारण थोरै पनि मिहिनेत नगरिकनै गृहमन्त्री पद सजिलै हत्याउन सफल भए ।’
‘त्यसैले सतहमा उद्घाटित यी सबै गम्भीर तथ्यहरूका आधारमा देशलाई भयानक क्षति र शोकमा डुबाउने योजनाकारका रूपमा रहेका अहिलेका गृहमन्त्रीलाई पदबाट बरखास्त गरी राज्य विरुद्धको अपराधमा तत्काल गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइनु पर्दछ’ बर्तौलाले थप लेखेका छन् ।














