नेकपा एमाले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाका लागि अदालत जाँदै

२७ असोज ०८२, काठमाडौं । नेकपा एमाले जेनेरेशन जेड पुस्ताले गरेको आन्दोलनपछि विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै अदालत र आन्दोलनमा जाने भएको छ ।

आइतबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले संसद विघटन असंवैधानिक भएकाले पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालत र आन्दोलनमा जाने बताएका हुन् ।

गत भदौ २३ र २४ मा जेनेरेशन जेडले गरेको आन्दोलनको जगमा पूर्वप्रधानन्यायाधी सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति भएसँगै प्रतिनिधिसभा बिघटन गरिएको थियो ।

अन्तरिम सरकारको गठन र प्रतिनिधिसभा विघटन भएपछि पहिलोपटक बसेको एमाले सचिवालय बैठकको निर्णय सुनाउँदै सचिव ज्ञवालीले भने, ‘यो विघटन नै असंवैधानिक भएकाले त्यो पुनर्स्थापना हुनुपर्छ भन्ने हाम्रो माग छ, अदालत खुलोस्, अनि हामी जान्छौं ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा ओलीले सत्तामा टिकिराख्न विगतमा दुई पटकसम्म संसद विघटन गरेका थिए ।

एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपामा विवाद चर्किएर सत्तामा बस्ने बहुमत गुमाउने स्थितिमा पुगेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते संसद विघटन गरेका थिए । तर सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटन असंवैधानिक भएको ठहर गरिदिएको थियो ।

त्यसपछि पनि ओलीले नै २०७८ जेठ ८ गते संसद विघटन गरेका थिए । त्यसलाई पनि सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदिएको थियो ।