निर्वाचनको वातारण बनाउन प्रधानमन्त्री कार्कीले सुरू गरिन् राजनीतिक संवाद

१ कार्तिक ०८२, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि वातारण बनाउन सरकारले राजनीतिक दलहरूसँग संवाद सुरू गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार साँझ बालुवाटारमा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनसँग भेट गरेर चुनावी संवाद सुरू गरेकी हुन् ।

श्रेष्ठ र पुनसँगको भेटमा प्रधानमन्त्री कार्कीले अन्तरिम सरकार जसरी पनि चुनाव गराउन लागेकाले यसका लागि दलहरूले सहयोग गर्नुपर्ने धारणा राखेकी थिइन् ।

प्रधानमन्त्रीसँग छलफल भएको औपचारिक जानकारी दिँदै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भने, ‘प्रधानमन्त्रीले बोलाउनु भएको थियो, उहाँले चुनावका लागि वातावरण बन्छ दलहरूले सहयोग गर्नुपर्छ भन्नुभएको छ ।’

उपमहासचिव पुनले प्रधानमन्त्रीलाई माओवादी केन्द्रले चुनावमा जाने निर्णय गरिसकेकाले त्यसका लागि उपयुक्त वातावरण बनाउन सुझाएको बताए ।

प्रधानमन्त्री कार्कीले पनि निर्वाचनका लागि सबै पार्टीका नेताहरूलाई क्रमश भेटघाट गरेर छलफल अघि बढाउने पनि सो भेटमा बताएकी थिइन् ।

जेनेरेशन जेडले गत भदौ २३ र २४ मा गरेको प्रदर्शनपछि सरकार र राजनीतिक पार्टीहरूको संवाद हुन नसकेपछि गएकोहप्ता राष्ट्रपतिको पहलमा शीलतनिवासमा सर्वदलीय बैठक बसेको थियो ।