जेन-जी अगुवालाई प्रचण्डको आग्रह : आफ्नो सच्चा मित्र र दुष्मन छुट्याउन सक्नुहोस्

१ कार्तिक ०८२, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का राष्ट्रिय महाधिवेशन आयोजन समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनेरेशन जेड (जेन–जी)का अगुवाहरूलाई आफ्नो मित्र र दुश्मन छुट्याउन सक्नुपर्ने बताएका छन् ।

माओवादी केन्द्रको पार्टी कार्यलय पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिको व्यानरमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन् ।

“आफ्नो सच्चा मित्र र दुश्मन छुट्याउन सक्नुहोस् । आफूलाई माया गर्नेहरूलाई चिन्न आवश्यक छ । राम्रोसँग समीक्षा गरौं,” जेन–जीहरूलाई उनले भने, “एउटा विचारले तपाईंहरूको आन्दोलनलाई आतंकारी भनेको छ । तपाईंहरुलाई आतंककारी भन्दा हामीलाई चसक्क बिझ्छ । हिजो हामीलाई पनि उत्पीडनमा परेकाहरूको पक्षमा संघर्ष गर्दा आतंककारी भन्थे । आज तपाईंहरूलाई त्यस्तै भनिँदैछ ।”

यसैगरी जेनजी अगुवाहरूलाई सहकार्य गरेर अघि बढ्न प्रस्ताव गर्दै प्रचण्डले भने, “आउनुहोस् आर्थिक विकास र समृद्धिको निम्ति बसेर सल्लाह गरौं, एउटा रोडम्याप बनाऔं ।”

 

उनले अब देशको समसामयिक राजनीतिक संकट समाधान गर्न फागुन २१ को निर्वाचन हुनुपर्ने साथै सबै राष्ट्रवादी, लोकतान्त्रिक र क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्ने बताए ।

‘हामी यतिबेला अत्यन्त जटिल परिस्थितिबाट गुज्रिरहेका छौं । संविधान र लोकतन्त्र जोगाउने अहिलेको सबैभन्दा सहज, समावेशी र राष्ट्रहितको विकल्प भनेकै आगामी माघ २१ गते तोकिएको निर्वाचन हो’ उनले भने, यसलाई सफल पार्न सबै दल, नागरिक समाज, बुद्धिजीवी, पत्रकार लगायत सबै पक्षको ऐक्यबद्धता आवश्यक छ ।’

यस्तै पार्टीभित्रको अन्तरविरोध र नेतृत्वको विषयमा भइरहेको बहसबारे प्रचण्डले भने, “कतिपय मानिसहरुले भन्ने गर्छन्, पार्टी अध्यक्ष छोड् । म पार्टी अध्यक्ष मात्रै होइन, के बलिदान गर्न पर्छ म गर्न तयार छु । आजै म तपाईंहरूको अगाडि घोषणा गर्न चाहन्छु । देश बच्न प¥यो । हामीलाई अध्यक्ष, पद, कार्यकारी यो धेरै सानो कुरा भइसक्यो ।”