
६ कार्तिक ०८२, काठमाडौं । आज हिन्दु नेपालीहरूको दोस्रो ठूलो चाड तिहार पर्व दिदीबहिनीले दाजुभाईलाई भाइटीका लगाएर मनाइँदैछ ।
यमपञ्चकको मुख्य दिन भाइटिकाका अवसरमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धापूर्वक दीर्घायु र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाएर तिहार पर्व मनाइँदै गरिएको हो ।
टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला, सेलरोटी फलफूल लगायत खानेकुरा दिने र दाजुभाइले गच्छेअनुसार दिदीबहिनीलाई दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाअनुसार टिकाको साइत बिहान ११ः३९ बजे उत्तम रहेको भएपनि आज दिनभर टीका लगाउन कुनै बाधा छैन् ।
यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।
तिहारमा लगाउने टीका सप्तरङ्गी भनी प्रचारप्रसार भए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।













