उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टी छाडिन्

२० मंसिर ०८२, काठमाडौं । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिएकी छन् । सरकारले हटौंडामा सडक विस्तार गर्दा घरधनीलाई उचित मुआब्जा नदिई अन्याय गरेको भन्दै उनले राजीनामा दिएकी हुन् ।

सरकारले हटौंडामा सडक विस्तार गर्दा घरधनीलाई उचित मुआब्जा नदिई बिजुली समेत काटेर अन्यायपूर्वक घरजग्गामा बनेको संरचना भत्काएको भन्दै सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु ।’

उनले उक्त पार्टीमा बसिरहन नैतिकताले नदिएको भन्दै हेटौंडा पीडितको साथमा रहनेसमेत बताएकी छिन् ।

‘अरू अभियन्ता साथीहरू के गर्नुहुन्छ ? मेरो नैतिकताले दिएन,’ उनले लेखेकी छिन्, ‘म हेटौंडा पीडितको साथमा छु ।’

अर्को एक फेसबुक स्टाटसमा आफूभित्र नैतिकता भएकैले राजीनामा दिएको भन्दै लेखेकी छन्, ‘नैतिकता छ म मा । त्यसैले रानीनामा हो । बुझ्न अनुरोध गरें । हस् । मरेका मान्छेहरू बोल्दैनन् । म जिउँदो छु । बस् ।’