२१ मंसिर ०८२, काठमाडौं । गत असारमा आएको बाढीले क्षति पु-याएको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको छ ।
चीनको तिब्बतबाट बग्ने ल्हेन्दे खोलामा गत असार २४ गते बिहान आएको बाढी क्षतिग्रस्त आयोजना हेडवक्र्सको मर्मतपछि अस्थायी रुपमा नदीबाट पानी पथान्तरण (डाइभर्सन)गरी विद्युतगृहमा रहेका तीनवटा युनिटमध्ये एउटा युनिट शनिबारबाट सञ्चालनमा ल्याइएको हो ।
बाँकी दुईवटा युनिट एक महिनाभित्र संचालनमा ल्याउने र हेडवक्र्स क्षेत्रको बाँकी मर्मत कार्य आगामी वर्षायाम अगाडि नै सम्पन्न गर्ने गरी पुनर्निर्माणको काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको १११ मेगावाट क्षमताको आयोजनाको एउटा युनिटबाट ३७ मेगावाट विद्युत उत्पादन हुन्छ ।
कार्यकारी निर्देशक सिलवालले प्राधिकरण, चिलिमे र रसुवागढी हाइड्रोपावर कम्पनीका पदाधिकारी तथा कर्मचारीको अथक प्रयास र मेहनतबाट क्षति पुर्याएका संरचनाको मर्मत गरी आयोजना सञ्चालनमा ल्याउन सफल भएको बताए ।
बाढीले आयोजनाको हेडवक्र्स क्षेत्रमा पानीसँग बगेर आउने काठ, झार, बोटबिरुवाजस्ता वस्तु रोक्ने मेसिन, गेटलगायतका उपकरण बगाएको थियो । हेडवक्र्स नियन्त्रणलगायतका भवनमा दुई मिटरभन्दा बढी लेदो थुप्रिएको थियो । हेडवक्र्समा ठूल्ठूला ढुंगा आएका थिए र पानीलाई सुरुङतर्फ पठाउन बनाएका संरचना भत्किएका थिए । साथै, विद्युत उत्पादनपछि नदीलाई पानी पढाउन प्रयोग हुने टेलरेसबाट पानी बसेर टर्वाइन रहेको तला पूर्ण रुपमा डुबेको थियो ।













