केपी ओलीले महिलाहरूलाई सधैं अपमान गरेको अष्टलक्ष्मीको आरोप

२३ मंसिर ०८३, काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाहरूलाई पार्टी अध्यक्षले सधैं अपमान गरेको आरोप लगाएकी छन् ।

एमालेको ११ औं महाधिवेशन सन्दर्भमा मंगलबार आयोजित अन्तर्संवाद कार्यक्रममा उनले एमाले अध्यक्ष केपी ओलीप्रति टिपपणी गर्दै यस्तो आरोप लगाएकी हुन् ।

ओलीले गणतन्त्र नेपालको पूर्वराष्ट्रपतिलाई पटकपटक अपमानित शब्दहरू प्रयोग गर्ने गरेको शाक्यको आरोप छ ।

‘एउटा पूर्वराष्ट्रपति, परमाधिपति पनि भन्छौँ, देशको संरक्षक पनि भन्छौँ, संविधानको संरक्षक पनि भन्छौँ । उहाँलाई धामीझाँक्री भनेको के हो ? यस्तो अपमान गर्न पाइन्छ ?’, उनले भनिन्, ‘सामान्य महिलालाई त गर्न पाइँदैन भने पूर्वराष्ट्रपति भइसकेकोलाई यो शब्दले अपमान गर्ने हद भनेको यो नेतृत्वलाई सुहाउँदैन । यो नेतृत्वले गर्नै हुँदैन । तर गर्न हुन्छ, कसले गर्न हुन्छ ? केपी ओलीले गर्न हुन्छ ।’

महिलाको अपमान गर्नेको विरुद्ध सशक्त आवाज उठाउनुपर्ने शाक्यको भनाइ छ । महिलालाई अपमान गर्ने, अवमूल्यन गर्ने नेतृत्व आजको आवश्यक्ता नभएको उनले बताइन् ।

‘यस्तो नेतृत्व अवको आवश्यक्ता होइन । महिलालाई अपमान गर्ने नेतृत्व आजको आवश्यक्ता होइन । महिलालाई अवमुल्यन गर्ने नेतृत्व आजको आवश्यकता होइन,’ शाक्यले भनेकी छन्, ‘आधा भन्दा बढी जनसंख्याको हिस्सा महिलाले ओगटिरहेको अवस्थामा, महिला हिंसाविरुद्धको यत्रो १६ दिने अभियान मात्रै होइन, निरन्तर आवाज उठिरहको बेलामा यो खालको शब्द प्रयोग गर्ने भनेको सबै महिलाहरूको अपमान हो । यसको विरुद्ध सशक्त आवाज उठ्नुपर्छ ।’

अध्यक्ष ओलीले सञ्चारमाध्यममा पूर्वराष्ट्रपति भण्डारी चालेका कदमहरूमा व्यंग्य भावसहित आफूसँग सल्लाह नै नगरिकन परैदेखि धामीले जस्तो घुमरौं लाएर झल्र्याङ्–झल्र्याङ् गरेर मुजुरका प्वाँख–स्वाँख लाएर ढ्याङढ्याङ पार्दै ‘म राष्ट्रपतिबाट आएँ, ठाउँ छोड्, ठाउँ छोड्, म अध्यक्ष हुन्छु, ठाउँ छोड्’ भन्दै आउन मिल्छ ? भन्दै प्रश्न उठाएका थिए ।