नेपाली जनता एक ढिक्का भए दुनियाँको कुनै तागतले हराउन सक्दैन – प्रचण्ड

२४ मंसिर ०८२, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको संकट अझसम्म नटरेको बताएका छन् ।

काठमाडौंमा बुधबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आयोजना गरेको जेनजी महोत्सवमा संयोजक प्रचण्डले यस्तो बताएका हुन् ।

गत भदौ २३ र २४ मा देश राज्यविहीन बनेको र अझै पनि संकट पूरै नटरेको भन्दै उनले भने, ‘देश जसरी २४ भदौमा राज्यविहीन जस्तो देखा प¥यो । राष्ट्र निकै ठूलो संकटमा प¥यो । अझै पनि संकट पूरै टरेको छैन ।’

‘हामी नेपालीहरू अहिले भर्खरै एटोमिक इनर्जी बनाएर मिसाइल टेस्ट गरेर विदेशी हस्तक्षेप रोक्न सक्ने स्थितिमा छैनौं । त्यस्ता भट्टीहरू बनाउन सक्ने हैसियत नेपालको छैन,’ उनले भनेका छन्, ‘तर तीन करोड नेपाली एक ढिक्का भएर लडाइँको मैदानमा अगाडि बढ्न सक्ने तागत नेपालीसँग छ । त्यसलाई दुनियाँको कुनै तागतले हराउन सक्दैन ।’

संयोजक प्रचण्डले राष्ट्रको स्वाधिनता र स्वतन्त्रतालाई जनताको एकताले मात्रै बचाउन सक्ने बताए ।