स्थानीय अभिभावक छोराछोरीहरूको भविष्यको लागि जाग्नुहोस् – शिक्षा मन्त्री

६ पुस ०८२, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विद्यालय शिक्षा सुधारका लागि अभिभावकहरूले नै आन्दोलन गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् मन्त्री पुनले नेपालभरिका धेरै विद्यालयमा भए गरेका राजनीति हटाउन अभिभावकले नै आन्दोलन गर्नुपर्ने बताएका हुन् ।

‘नेपालभरिका धेरै विद्यालयहरूमा भएका मनपरी, बेथिति, भ्रष्टाचार र राजनीतीकरण हटाउन स्थानीय अभिभावकहरू एकजुट भएर जोडदार आन्दोलन नगरेसम्म र कडा चेतावनीहरू नदिएसम्म सुधार हुन गाह्रो छ,’ उनले लेखेका छन्, ‘त्यसो गर्ने पूर्ण अधिकार संविधानले अभिभावकहरूलाई दिएको छ ।’

मन्त्री पुनले विद्यालय सुधारका लागि शिक्षा मन्त्रालयले दिएको निर्देशनले मात्र नपुग्ने भएकाले अभिभावकहरू नै जाग्नुपर्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘शिक्षा मन्त्रालयले मात्र काठमाडौंबाट निर्देशन दिएर नपुग्ने भयो । लौ त स्थानीय अभिभावकहरू आफ्नो छोराछोरीहरूको भविष्यको लागि जाग्नुहोस् ।’