एमाले लगायत पार्टीबाट ५६ जना नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

११ पुस ०८२, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीमा नेकपा एमालेका केन्द्रीय सदस्य लेखमान थापा, पर्सा जिल्ला नेकपा एमालेका पूर्वअध्यक्ष जयप्रकाश थारु सहित ५६ जना नेकपामा प्रवेश गरेका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले खादामाला लगाइदिएर एमाले लगायत विभिन्न पार्टी परित्याग गरेकालाई पार्टीमा प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुका तर्फबाट सम्बोधन गर्दै पर्सा जिल्ला एमालेका पूर्वअध्यक्ष जयप्रकाश थारुले अब पर्सा जिल्लाबाट एमाले बढारिने दाबी गरे । उनले पर्सामा नेकपाको प्रभाव अझ मजबुत हुने विश्वास व्यक्त समेत गरे ।

नवप्रवेशीलाई स्वागत गर्दै संयोजक प्रचण्डले यस प्रवेशले पर्सा जिल्लामा नेपाली कम्युनिष्ट पार्टी थप सशक्त बन्ने बताउँदै पर्सामै भव्य कार्यक्रमका बीच पार्टी प्रवेश गराउने योजना भए पनि समय अभावका कारण केन्द्रीय कार्यालयमापार्टी प्रवेश आयोजना गरिएको बताए ।