२३ साउन, मोरङ । नव युवा सन्जाल र युथ फर सोसाइटीको संयुक्त पहलमा एक दिवसीय बयरवन स्वास्थ्य चौकी सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
करिब २०० युवाहरुको उपस्थितिमा राजनीतिक दल, बुद्धिजिवी, नेपाल प्रहरी, स्थानीय स्कुल र स्थानीय क्लब, साथै वयरवन स्वास्थ्य चौकीको संयुक्त पहलमा सरसफाई कार्यक्रम तथा मार्च पास समेत भएको हो ।
बयरवन, केरौन, पथरी शनिश्चरेका सरोकार जनता, राजनीतिक दलका नेता, बुद्धिजिवी, ज्येष्ठ नागरिक, प्रधानाध्यापक, स्थानीय विद्यालय, इलाका प्रहरी पथरी, इस्थायी प्रहरी चौकीका प्रतिनिधिहरु साथै पत्रकारहरुले बयरवन – ६ मा मार्चपास समेत गरे ।
सरसफाई तथा मार्चपास कार्यक्रमपछि वयरवन स्वास्थ्य चौकीका इन्चार्ज कामेश्वर अधिकारीको प्रमुख अतिथ्यतामा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा युथ फर सोसाइटीका अध्यक्ष सुनिल अधिकारी, नेकपा माओवादी केन्द्रका मनोज राजवंशी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा वक्ताहरुले सम्बोधन गर्ने क्रममा विगतमा जेजस्तो कमी कमजोरी भए पनि अबदेखि हेल्थपोष्ट परिसरमा गाईवस्तु बाँध्न नपाउने साथै कर्मचारीहरु समयमै अफिस आउनु पर्ने र औषधि भएर पनि नदिने कर्मचारीलाई कारवाही हुनु पर्ने बताएका थिए ।
नव युवा सञ्जालका अध्यक्ष प्रकाश राईको सभापतित्वमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य स्थानीयवासी खेमराज राजवंशीले राखेका थिए । साथै, उक्त कार्यक्रमको सञ्चालन युथ फर सोसाइटीका सचिव अर्जुन गिरीले गरेका थिए ।